दैलो न्युज सुर्खेत
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कालिकोट जिल्लाका ८२ वटै वडा तथा ७ वटै स्थानीय तहका अधिवेशन सम्पन्न भएसँगै प्रदेश सभा निर्वाचन क्षेत्रीय नेतृत्वका लागि आकांक्षीहरूबीच प्रतिस्पर्धा सुरु भएको छ। प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ दुवैतर्फ क्षेत्रीय सभापतिका लागि विभिन्न नेताहरूले आकांक्षा व्यक्त गरिरहेका छन्।
यसैक्रममा प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’को क्षेत्रीय सभापतिका लागि युवा नेता सत्यबहादुर शाहीले उम्मेदवारी दिने तयारी गरेका छन्। लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रही पार्टीका विभिन्न सांगठनिक गतिविधिमा सक्रिय रहँदै आएका शाहीले संगठनलाई थप सुदृढ, व्यवस्थित र चलायमान बनाउने उद्देश्यसहित क्षेत्रीय सभापतिमा उम्मेदवारी दिन लागेको बताएका छन्।शाही नेपाली कांग्रेस कालिकोटको एक कार्यकाल जिल्ला कार्यसमिति सदस्य भइसकेका छन्। त्यसपछि पुनः अर्को कार्यकाल जिल्ला कार्यसमिति सदस्यका रूपमा जिम्मेवारी सम्हालेका उनले संगठन विभाग प्रमुखको भूमिकासमेत निर्वाह गरिसकेका छन्। हाल उनी कालिकोट–सुर्खेत सम्पर्क विभाग प्रमुखको जिम्मेवारीमा रहेका छन्।
पार्टीको विभिन्न तहमा काम गरेको अनुभवलाई आगामी दिनमा संगठन निर्माणमा उपयोग गर्ने उद्देश्यसहित आफूले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिन लागेको शाहीको भनाइ छ।युवा नेता शाहीले भने,“पार्टीभित्र लामो समयदेखि निरन्तर काम गर्दै आएको छु। वडा र पालिका तहसम्मका साथीहरूको भावना, समस्या र आवश्यकतालाई नजिकबाट बुझ्ने अवसर पाएको छु।
अब संगठनलाई अझ व्यवस्थित, सक्रिय र जनमुखी बनाउँदै पार्टीलाई बलियो बनाउने उद्देश्यले प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’को क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको हुँ।”उनलेआफ्नो उम्मेदवारी कुनै व्यक्ति वा समूहविरुद्ध नभई संगठनलाई बलियो बनाउने र नयाँ पुस्तालाई पार्टीको सांगठनिक भूमिकामा जोड्ने उद्देश्यले भएको बताए।“पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने मेरो प्राथमिकता हो।
अनुभवी अग्रजहरूको मार्गदर्शन र युवाको ऊर्जा तथा सक्रियतालाई एक ठाउँमा जोड्न सके संगठन अझ बलियो बन्न सक्छ,” शाहीले भने।उनले क्षेत्रीय संगठनलाई वडा तथा पालिका तहसँग थप समन्वयकारी बनाउने, क्रियाशील सदस्य र कार्यकर्ताको क्षमता अभिवृद्धि गर्ने तथा पार्टीका गतिविधिलाई जनतासँग जोड्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताए।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनपछि पालिका हुँदै प्रदेश सभा क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार प्रदेश सभा क्षेत्रीय अधिवेशन २०८३ असोज १० गतेका लागि तोकिएको थियो। तर मौसम प्रतिकुल का कारण उक्त अधिबेशन को आइतबार उद्घाटन गरिएको छ ।
कालिकोटमा वडा र पालिका तहका अधिवेशन सम्पन्न भएसँगै अब प्रदेश सभा क्षेत्रीय नेतृत्वमा कसले जिम्मेवारी पाउँछ भन्ने विषयमा कांग्रेस कार्यकर्ताबीच चासो बढेको छ। यहीबीच युवा नेता शाहीको उम्मेदवारीले क्षेत्रीय सभापतिको प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ।






