दैलो न्यूज सुर्खेत
जेनजी आन्दोलनमा घुसपैठ गरेको आरोपमा अनुसन्धान राडरमा रहेको टीओबी समूहको साइनो फ्रि तिब्बतसँग नभएको प्रहरीले निष्कर्ष निकालेको छ । डेढ महिना लामो अनुसन्धानपछि सोमबार प्रहरीले यो समूहको फ्रि तिब्बतसँग कुनै साइनो नरहेको सन्देश दिएको छ ।
जेनजी आन्दोलनका बेला टीओबीको सक्रियतासँगै उत्तरी छिमेकी चीनले समेत नेपाल सरकारसँग यससम्बन्धी बाहिरिएका सूचनाबारे आफूहरुले ‘केयरफुल अब्जरभेसन’ चलाइरहेको भन्दै छानबिनको प्रगतिबारे चासो राखेको थियो । चिनियाँ चासोपछि सरकारले अनुसन्धान चलिरहेको अनि छिटै सत्यतथ्य बाहिर आउने जवाफ दिएको थियो ।
२६ असोजमा यो समूहका मुख्य व्यक्ति तेन्जिन दावा लामालाई पक्राउ गरी अनुसन्धान गरेको प्रहरीले तेन्जिन बाहेक यसका अन्य सदस्यसमेत तिब्बती मूलका नरहेको प्रष्ट बताएको छ ।
सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको सभाहलमा एक कार्यक्रमबीच परिसरका प्रमुख तथा एसएसपी रमेश थापाले टीओबी (तिब्बती ओरिजिनल ब्लड) लेखेको टिसर्ट लगाउने व्यक्ति पनि तेन्जिन बाहेक अरू फेला नपरेको प्रष्ट पारेका छन् ।
यो समूहका अन्य सदस्यहरूले टीओबीलाई द ओरिजिनल ब्रदर्सको रूपमा लिने गरेको पनि प्रष्ट पारेका छन् । ‘तिब्बतीयन ओरिजिनल ब्लडको रूपमा तेन्जिन बाहेक अरूले टिसर्ट समेत नलगाउने गरेको पाइएको छ,’ उनले भने, ‘तिब्बतीयन ओरिजिनल ब्लड लेखेको टिसर्ट लगाउने तेन्जिन तिब्बतीयन मूलका हुन् ।’
बाइकर्स ग्रुप
गत २३ र २४ भदौमा भएको बुलेट बाइक पड्काउँदै हिँडेको यो समूहले बाइकर्स ग्रुपकै समूह रहेको प्रहरीले बताएको छ । टीओबीको स्थापना १० जुन २०२४ मा भएको खुलेको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
यो समूहमा ५७ जना सदस्य छन् । यसका संस्थापक तथा अध्यक्ष भने अहिले प्रहरी हिरासतमा रहेका तेन्जिन नै हुन् । यो ग्रुप गठन गर्नुको उद्देश्य भनेको मोटरसाइकल भएका साथीहरूबीच भेटघाट गरी घुम्ने र सामाजिक सेवा प्रदान गर्ने गरेको रहेको उनीहरूले बताएका छन् ।








