Dailo News
२०८३ श्रावण १८ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १८ सोमबार

मानव जीवन एक रहस्य !!!

लाेकेन्द्र वि सी

मानव जीवन अति नै रहस्यमय रहेको छ । मानव जीवनमा मानिस जन्मेदेखि नमरुन्जेलसम्म अनेक प्रकारका समस्याहरूसँग जुद्नुपर्ने बाध्यता हुन्छ । मानिसको जम्माजम्मी औसत आयु ७० वर्ष मात्र हो । जस अन्तर्गत त मानिसले आधा जीवन सुतेर नै बिताउँछ । बाँकी रह्यो ३५ वर्षको उमेर। जसमा पनि १० वर्ष त बाल्यकाल हुने गर्दछ जुन उमेर मानव जीवनमा निरीह उमेर हो। जुन उमेरमा बाल मानस पटल कुनै पनि समस्याको पहिचान र मानव जीवन समस्यामय हुन्छ भन्ने कुरा पत्तो पनि नपाउने उमेर हो । मानव जीवनका कैयन उकाली ओराली र कयन दुःख कष्टका बीचमा एक रहस्यमय जीवित आत्मा रहेको हुन्छ । जानी नजानी भएपनि मानव चोला यस धर्तीमा जन्म लिइसकेपछि जेन तेन चलाउनै पर्ने हुन्छ । अब बचेको २५ वर्षको उमेर पनि केही गर्नका लागि केही सीप सिक्नका लागि कम्तिमा पनि सात वर्ष को उमेर खर्चिनुपर्ने देखिन्छ । अब बच्यो मानव जीवनमा जम्मा १८ वर्षको उमेर। केही गर्ने सक्रिय जीवन भनेको मात्र १८ वर्षको रहेको छ ।

यति छोटो सक्रिय जीवनका क्रममा अनेकन बाधा अर्चना आउने गर्दछन् तर त्यसलाई पनि छिचोल्दै आफ्नो जीवन एक उदाहरणीय बनाउन आवश्यक देखिन्छ हैन भने यो मानव चोला लिएर जन्मिनुको कुनै पनि अर्थ हुँदैन किनभने मानव जीवन सबैभन्दा सर्वोकृष्ट प्राणी अन्तर्गतको चोला हो । यस ब्रह्माण्डमा अनेकन यस्ता रहस्यमय कुराहरू रहेका छन् । जस अन्तर्गत मानव जीवन पनि एक हो । त्यसैले यो प्राप्त गरिएको छोटो जीवनमा अनेकन बाधा अर्चनाहरूलाई चिर्दै जति सक्यो धेरै मानव कल्याणका लागि क्रियाकलापहरु गर्न आवश्यक देखिन्छ । मात्र जिउनु छ त सक्रिय जीवन १८ वर्ष । हामीसँग हुने उमेर पनि १८ वर्ष र संसारका अरबपति बिल गेट्स, ज्याकमा, लगाएत संसारका प्रख्यात वैज्ञानिकहरू अल्बर्ट आइन्सटाइन रबरट अपेन हाईमार माइकल फारडे आदि सँग पनि त्यही उमेर र त्यही समय हुने गर्दछ । तर उनीहरूले समयको भरपुर सदुपयोग गरे तर हामीले समयलाई चिन्न सकेनौं  र समयलाई उचित ढंगले सदुपयोग गर्न सकेनौँ । भने हामी र उनीहरु बीचमा यही कुराको अन्तर हुने गर्दछ ।

संसारमा सबै कुराको रहस्य उजागर गर्न सकिन्छ र त्यसको सजगता अपनाई जीबनमा अनेक प्रकारका बहादुरी, अचम्म लाग्दा र प्रशंसनीय काम गर्न सकिन्छ र गरिन्छ पनि । तर ‘जीवनको रहस्य’ यस्तो छ कि कसैले आजसम्म पनि उजागर गर्न र बुझ्न सकेका छैनन् । यो मानिसको अन्तर मनले पनि सजिलै बुझ्न नसकेको रहस्य बाहिरी संसारमा रमाएका अरबपति,आलेशान महलमा सुरा सुन्दरीको साथमा यश गर्ने, त्यस्तै शास्त्र पढेका पण्डित, विद्वान र बुद्धिमान बनेका व्यक्तित्व, ठूला युनिभर्सिटीमा पढाउने प्राध्यापक, ठूला दर्शनशास्त्री, राजनेता, राजा र राष्ट्रपती लगाएत धर्मका ठूला ज्ञाता र अन्य तमाम मानव मात्रले यो रहस्य जान्न खोज्नु, बुझ्न खोज्नु त थोपा पानीले माहासागरसँग फुर्ति गर्नु जस्तै हो । सांसारिक संसारको लहर-तलाउमा पौडी खेली जीवनको रहस्य बुझ्न खोज्ने कोही बीचमै बिचलित भइ संसारबाट बिदा भएका छन् भने कोही गोताखोर झैं पानीको गहिराहिमा गएर पनि केहि नभेटी खाली हात फर्किएर जीवनको रहस्यलाई बुझ्न अर्को पुस्तालाई सुम्पिएर जाने गर्दछन् । यो सत्ययुगदेखि आजको कलियुगसम्म गुज्रिँदै आएको अबस्था हो ।

हजार घोडाबाट एक घोडाका इच्छाहरु पनि नराखी जीवनलाई जीवन्त राखी सम्पूर्ण सम्बन्धको बिश्राम गरेमा मात्र जीवनको रहस्यको उजागर आफसे आफ अनुभूति हुन्छ । किनकि शून्यतामा नै ईश्वको मुहार झल्किन्छ। जीवनको रहस्य बुझेको भए देवादी देव माहादेव आफ्नी प्रियतमा अग्निमा जलेर देह त्याग गरेकी सतिदेवीलाई काँधमा बोकेर मोहको जालमा फस्दैन थिए होलान् । आफैंले भस्मासुरलाई दिएको श्रापबाट आफूँले नै पछुताउनु पर्ने गरी भागी भागी लुक्न पर्दैनथ्यो । त्यसैगरी त्रेता युगमा रामचन्द्रले जीवनको रहस्य बुझेको भए अनायास सीताजीले एक्लो वन जंगलमा गई लवकुश जन्माउनु पर्दैन थियो होला र स्वयम् रामचन्द्रलाई सीताजीले अग्नि परीक्षा दिनु पर्दैन थियो होला। द्वापर युगमा श्रीकृष्णजीले पनि जीवनको रहस्य बुझेको भए सारा यदुवंशको नाश भई आफू एउटा ज्वारा नामको ब्याधाको बाणबाट मृत्युबरण गर्नु पर्दैन थियो होला । यस्तै गरी आज यो कलियुगमा आएका र गएका अरबौं मनुष्यहरुले पनि जीवनको रहस्य नबुझेरै सुन्दर जीवनमा अनेकौं सुख सुविधाका बावजुद पनि दुःख र पीडाबाट गुज्रिरहेका छन् । जीवनको रहस्यको ‘रहस्य’ मा फसी आज ठूल्ठूला वीर पुरुष, सन्त, महन्त र महापुरुषहरु अन्त्यमा आत्म समर्पण गरी जीवनको रहस्यलाई थाँती राखी संसार छोडेर गएका छन् । फरक यत्ति नै हो कि कोही ज्ञानी भई गएका छन् भने कोही मुमुक्षु, अज्ञानी र मूर्ख बनी जीवनको रहस्यदेखि धेरै टाढा भएर गएका छन् । ठूला ज्ञानी, पण्डित, सन्त, महन्त, योगपुरुष, विद्वान र बिबेकीहरु त जीवनको रहस्यबाट बिमुख रही आए भने अरु मुमुक्षु, अज्ञानी र मूर्ख मानिसहरु त यसै रहस्यको खोजमा आफूलाई लगाई जीवनै बिसर्जन गर्दै आएका छन् । ठूला शासक पनि यो संसारमा जीवनको रहस्य नबुझी मुमुक्षु, अज्ञानी र मूर्ख प्रवृत्तिले ग्रसीत भई आफू भित्र रहेको अन्तर्मनको चेतनालाई र गर्भ भित्र आफूले गरेको गहिरो तपस्यालाई बिर्सिएर बिस्मृतिको संसारमा आफूलाई उभ्याइ अहम, अहंकार, लोभ, मोह र कामबासनाको दुव्र्यसनमा फसाइ जीवनको रहस्यलाई जान्नुको सट्टामा त्यसको कुनै परवाह नगरी आफूलाई बीचमै छोडी उद्देश्यहीन जीवनको सीमित घेरा भित्र राखी कोही आत्मा हत्या गर्दछन् भने कोही बम बारुदको शिकार भइ र कोही ठूला दर्घटनामा परेर वा काल गतिले जीवननै अन्त्य गरी रहेका छन् । जीवनको रहस्य नबुझी विन्स्टन चर्चिल मरेर गए । लेनिन मरे, कार्ल माक्स नागरिकता बिनानै मरेर गए। रास्ट्रपति अनवर सादात ले मञ्च मै गोली खानु पर्यो । जे.एफ केनेडी आफू चढेको जीपमै गोली लागेर ढल्नु पर्यो । हिटलरले आफैंले आत्म हत्या गर्नु पर्यो । सद्दाम हुसेनले मृत्युदण्ड ब्योहोर्नु पर्यो । असम्भब केही हुँदैन भन्ने नेपोलियन बोनापार्ट वाटर लूको युद्धमा मर्नु पर्यो । ठूल्ठूला शासक काटिए मारिए। महात्मा गौतम बुद्ध आफ्नी अर्धांगिनीको ईश्वर प्राप्तिको साधारण उपदेशबाट झस्किनु पर्यो । ओशो रजनीश योगपुरुष ५८ वर्ष मै मर्नु पर्यो । इन्दिरा गान्धी पनि आफ्नै अंग रक्षकद्वारा मारिनु पर्यो र उनका छोरा राजिब गान्धी पनि आत्मघाती बममा परी अकालमा मर्नु पर्यो । नेपालका राजा वीरेन्द्रको समुल वंस नास र हत्या भयो। यस्ता थुप्रै उदाहरणहरू हाम्रा सामुन्ने यत्रतत्र छरिएर रहेका छन् जसले जीवनको रहस्यलाई बुझ्न सकेनन् ।

आज संसारमा संसार हाँकेर बसेका सम्पूर्ण शासकहरु पनि जीवनको रहस्य नबुझी घमण्ड, आडम्बर र यश आराममा राजनीतिको तलवार मात्र बोकी यत्रतत्र भौंतारी रहेका छन्। कहिले युद्ध, कहिले ठूला सम्झौता, कहिले एक अर्कामा वैमनस्यता कायम राखी त कहिले भाइचाराको सम्बन्ध राखी हिँडेका छन्। यो के जीवनको रहस्य बुझ्नेले गर्ने मानिसको लीला र ब्यबहार हो ? अवश्य होइन। ऐनामा आफ्नो अनुहार मात्र देख्नेले जीवनको रहस्य बुझ्न सक्दैन। अझ अनुहार कालो, आँखा ठूलो र दाँतलाइ तन्काउने हो भने दैत्य र आफूमा के फरक हुन्छ र। ठूला माहात्मा, अवतारीबाबा र सिद्ध पुरुषहरू पनि जीवनको रहस्य बुझ्न आफूलाई कर्मको बन्धनबाट छुटकारा दिइ भौतिक संसारको विज्ञानको झिलिमिलीबाट आफूलाई पर राखी आफूलाई केवल पराज्ञानको तल्लो सिँढीमा राखेर जीवनको रहस्यलाई ओझेलमा पारेका छन् र सारा आफ्नो जीवनलाई बैराग्यको उत्सर्गमा लागेर मृत्यु वरण गरेका छन् । के जीवन वास्तवमा त्यही हो त ? होइन । यो त सम्पूर्णमा अन्धबेग मात्र हो । एउटा आँखा बन्द गरी अर्को एउटा आँखाले मात्र हेरेको संसार हो । अर्को आँखाले त हेर्न बाँकी नै छ । तेस्रो आँखाको त कुरै छोडौं। आफ्नो अड्कल बाजी मात्र हो जुन सर्वथा सत्यमा परिणत हुन सक्दैन । यो संसारमा महात्मा गौतम बुद्ध, सुकरात र लाओत्से जस्ता महान पुरुषहरु पनि नजन्मेका होइनन् । महात्मा गौतम बुद्ध ७/८ बर्षपछि घर फर्की आफ्नी पत्नीसँग ईश्वर प्राप्तिको खबर सुनाउँदा पत्नीले ईश्वर प्राप्त गर्न भौंतारिनु पर्दैन थियो, यही घरमा नै हामी पत्नी छोरा भित्रै ईश्वर खोजेको भए भेट्टाउने कुराको स्मरण गराउँदा गौतम पनि आखिर जीवनको रहस्य नबुझेरै भौंतारिएका थिए भन्ने प्रमाणित हुन आउँदछ । जीवनको रहस्यबाट बिमुख रहँदा महान दार्शनिक सुकरातले बिष पिउनु परेको थियो।

भनिन्छ, चौरासी बर्षसम्म गर्भमा बास गरी जन्मिँदै सेतो दारी र कपाल लिएर जन्मेका चीनका महान सन्त लाओत्से पनि जीवनको रहस्य नबुझी यस संसारबाट अलप भएका थिए रे । सत्यको मार्गमा उनलाई कसैले भेट्टाउन सक्दैन थियो । तर पनि उनि ईश्वर प्राप्तिको लागि कति दौडे कति दौडे त्यो भनि साध्य छैन । तर यो सबै प्रयत्न नै प्रयत्न थियो । तसर्थ जबसम्म लालच हृदयमा रहन्छ तबसम्म जीवनको रहस्य बुझ्न सकिँदैन, चाहे त्यो ईश्वर प्राप्ति कै लालच किन नहोस् । जबसम्म हामी खोजमा हुन्छौं, तबसम्म हामी बाहिरी जगतमा दौडिरहेका हुन्छौं, चाहे एक इन्च कै दूरी किन नहोस् । खोजकै क्रममा जब हामी बाहिरी जगतबाट भित्री मनमा प्रवेश गर्छौं, तब फेरि हामी मनलाई दौडाइ राख्छौं जुन बिशाल हात पसारिएर बसेको हुन्छ हरेक पल । हजार दौडेका इच्छाका घोडाहरु घटाई घटाई आखिर एकमा त आउन त सकिन्छ तर त्यही एउटा घोडाले पासो थापेर बसिरहेको हुन्छ । जसबाट हामीलाई लालचकै संसारमा डोर्याइ दिन्छ र जीवनको रहस्य बुझ्नलाई त्यही एक घोडा बाधक बन्दछ । आज त्यही एउटा घोडाको लालचले कोही हाँसिरहेका छन्, कोही रोहिरहेका छन्, कोही मन जलाएर बसेका छन् त कोही आफ्नै घर जलाएर बसेका छन् । यसरी संसारमा विभिन्न तह र तप्काका मानिसहरु जीवनको रहस्य नबुझी र नखोजी आफ्ना दैनिक दिनचर्यामा मात्र समय बिताई रहनुलाई जीवनको रहस्य बुझ्ने मार्गतिर लागि परेको मान्न सकिन्न । यसरी आफ्नो जीवनको रहस्य नै नबुझी, नजानी र नदेखि उद्देश्यहीन,शून्य पृष्ठभूमि, शून्य बिचार, मुल्यांकन,राष्ट्रियता, बिधि, नियम, सुशाशन, अबधारणा सच्चरित्र, नैतिकता र मानवता हराएका र घमण्ड, लोभ, लालच, विसंगति, मुमुक्षु, अज्ञानी र मुढताले भरिपूर्ण भएका मानवले जीवनको रहस्य बुझ्न सयौं जुनीमा पनि सक्दैनन् । तसर्थ हजार घोडाबाट एक घोडाका इच्छाहरु पनि नराखी जीवनलाई जीवन्त राखी सम्पूर्ण सम्बन्धको बिश्राम गरेमा मात्र जीवनको रहस्यको उजागर आफसे आफ अनुभूति हुन्छ । किनकि शून्यतामा नै ईश्वको मुहार झल्किन्छ। अतः जीवनको रहस्य आफैं हो जो आफैं भित्र निहित छ र आफैं एक जीवनको रहस्य बनी रहेको हुन्छ । तसर्थ जब ऐनामा आफ्नो अनुहार हेर्दा स्वयमा ईश्वरको अनुहारको अनुभूति हुन्छ, त्यही हो जीवनको रहस्य बुझ्ने तरिका शैली र अभ्यास । त्यसैले सक्रिय मानव जीवनको १८ वर्षको उमेर जे जसरी हुन्छ सक्रियतापूर्वक मानव कल्याणका लागि व्यतीत गर्न आवश्यक देखिन्छ । त्यसैमा मानव जीवनको रहस्य लुकेको हुन्छ ।

लेखक

दैलो मिडियाका प्रधान सम्पादक

तथा विभिन्न कलेज र स्कुलहरूमा लामो समयदेखि प्राध्यापन पेशामा सँगलग्न व्यक्ति हुन् ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।