Dailo News
२०८३ श्रावण २० बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २० बुधबार

वृक्षारोपणको महत्व र औचित्य

श्रावण २१ , दैलो खबर ,सुर्खेत।

मानव र वृक्ष बीचको सम्बन्ध अनादि कालदेखि नै घनिष्ठ छ । वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि प्राचीनकालदेखि नै गर्दै आएको हो । जन्मदेखि मृत्युसम्म मानव जीवनलाई सार्थक तुल्याउन वृक्ष चाहिन्छ । जन्मेपछि शिशुलाई ताप दिन दाउरा चाहिन्छ भने मृत्युपछि पनि लास जलाउन त्यही दाउराको आवश्यकता हुन्छ । यसैगरी बाँचुन्जेल चाहिने अक्सिजन पनि यही वृक्षले प्रदान गर्दछ । वृक्षले कार्बन डाइअक्साइड र अक्सिजनको मात्रा मिलाउनेदेखि भूसंरक्षणसम्मका कार्यहरु गर्दछ ।

वृक्षको महत्व मानव जीवनका लागि अपरम्पार छ ।वृक्ष रोप्ने कार्य नै वृक्षारोपण हो । वृक्षारोपणले कृषककोे आवश्यकता पूर्तिसँगै वातावरण सन्तुलन कायम गर्दछ । हजारौँ वर्षदेखि वृक्षारोपण कार्यले वातावरण सन्तुलन, खाद्यान्न आपूर्ति, दैनिक जीविकोपार्जन लगायतका आवश्यकता पुरा गर्दै आएको हो । अझ धार्मिक महत्वका लागि वृक्षारोपण गरिदै आएको पनि पाइन्छ । हिन्दू धर्म अनुसार वर पिपल स्वामी लगायतका वृक्षलाई ईश्वरीय अंश नै मानिन्छ । अहिलेको बदलिंदो परिवेशमा वृक्षारोपण प्राकृतिक सौन्दर्यका लागि समेत गरिन्छ । ग्रामीण जीविकोपार्जन सुधारका लागि वृक्षारोपण महत्वपूर्ण छ । उता सहरी क्षेत्रमा पनि सहरी वन अर्थात् अर्बान फरेष्ट्रिले महत्व पाइरहेको छ । वृक्षारोपणले सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरु पुर्याइरहेको हुन्छ ।

वृक्षारोपणको इतिहास हेर्ने हो भने हजारौँ वर्षदेखि विभिन्न उद्देश्यका लागि गरिदैँ आएको पाइन्छ । क्रिश्चियनको धार्मिक ग्रन्थ बाइबलअनुसार अब्राहमले तामारिस्क बिरुवा रोपेको अभिलेख भेट्न सकिन्छ । यसैगरी श्रीलंकामा २२० बि.सीमा बोधी रुख रोपेको अभिलेख उल्लेख छ । वृक्षारोपण कार्यका केही उदाहरणहरुमा सन् १६८० मा श्रीलंकामा टिकको रोपण तथा सन् १८४३ मा भारतको निलगिरिमा मसलाको रोपण आदि हुन् । नेपालमा वृक्षारोपण कार्यक्रम पहिलो पञ्च वर्षिय योजनाबाट सुरुवात गरिएको हो ।

यसपछि विभिन्न समयमा विविध परियोजना मार्फत वृक्षारोपण गरिदैं आइएको छ । हेरक वर्ष वन तथा भूसंरक्षण मन्त्रालय अन्तरगतका निकाय तथा सामुदायिक वन उपभोक्ता समुहहरुले वृक्षारोपण गर्दै आएका छन् । वृक्षारोपण गर्नका लागि जिल्ला वन कार्यालय तथा जिल्ला भूसंरक्षण कार्यलयहरुले निशुल्क विरुवाहरु समेत उपलब्ध गराइरहेका छन् ।वृक्षारोपण कार्यको लागि सुरुमा स्थान छनौट गरी हावापानी, भौगोलिक अवस्था र माटोको गुणस्तर आदि ध्यानमा राखि आवश्यक प्रजातिहरु छनौट र आवश्यक संख्या यकिन गर्नुपर्दछ । वृक्षारोपण क्षेत्र छनौट गरेपछि चिस्यान भएको बेलामा खाल्डो खन्नुपर्छ ।

खाल्डो खन्दा करिव ३० से.मी गहिरो खाल्डो खन्नु पर्दछ । डाले घाँस वा फलफुलको लागि केही गहिरो खाडल आवश्यक रहन्छ । वृक्षारोपण कार्य लाइन, वर्गाकार र त्रिकोणत्मक ढाँचामा गर्न सकिन्छ । वृक्षारोपणमा विरुवाहरुको दुरी कति टाढा राखेर रोपण गर्ने भन्ने कुरा प्रजातिको वृद्घि दर, माटोको मलिलोपन, चिसोपना, प्रतिस्पर्धा, वन डढेलोको प्रकोप, वृक्षारोपणको उद्देश्य, उपलब्ध स्रोत र साधन, लागत आदिमा भर पर्दछ । नेपालमा वृक्षारोपणको लागी विरुवाहरु बीचको उपर्युक्त दुरी लम्बाई २.५ मी. र चौडाई २.५ मी. मानिएको छ । तर डाले घाँसको वृक्षारोपण गर्दा विरुवाहरु कम्तीमा ५ मी. र ५ मी. को फरकमा रोपिन्छ ।

वृक्षारोपणका लागि प्रजाति छनौट गर्दा स्थानीय जलवायुको अवस्था, माटोको अवस्था, व्यवस्थापन, बजारको माग र आपूर्ति, बिरुवाको वृद्धि दर, बिरुवाको उपलब्धता र लागत आदि कुराहरु ध्यानमा राख्नु पर्ने हुन्छ ।वृक्षारोपणको कार्यले मानव जीवनलाई मात्र सहज नपुर्याई सम्पूर्ण जैविक विविधता संरक्षणलाई समेत टेवा पुर्याएको छ । वृक्ष चराचुरुङ्गीदेखि लिएर जंगली जनावर समेतको वासस्थान हो । यही वृक्षमा लडीबुडी खेल्दै अनेकौं प्राणीले जीवन धानेका छन् । वृक्ष प्रकृतिको अनुपम उपहार हो ।

यो उपहारलाई विस्तारका लागि रोपण गर्नु अत्यावश्यक छ । हिन्दु धर्ममा वर पिपलका विरुवाहरुको रोपणले धर्म हुन्छ भन्ने मान्यता नै छ । यो मान्यताले हाम्रो पर्यावरण सन्तुलनका लागि भूमिका पनि खेलेको छ । हाम्रा परम्परागत ज्ञान सिप तथा संस्कारले पनि वृक्षारोपणको कार्यलाई राम्रो मान्दछन । वृक्षारोपणको कार्यलाई पुण्यसँग जोडेर समेत समाजमा हेरिने गरिन्छ । वृक्षारोपणले एकातर्फ घाँस, दाउरा, काठ, फलफुल आदिको सहज उपलब्ध गराएको छ भने अर्को तर्फ सारा विश्वले अहिले झेलिरहेको जलवायु परिवर्तनको समस्या न्युनिकरण तथा अनुकुलनमा सहयोग पुर्याएको छ । अहिलेको असार श्रावणको महिना वृक्षारोपण गर्ने उपयुक्त समय हो । प्रत्येक व्यक्तिका लागि २४ घण्टामा अनिवार्य रूपमा १६ केजी अक्सिजनको आवश्यकता पर्दछ। जुन अक्सिजन बिना मानिसले श्वासप्रश्वाससम्म पनि गर्न सक्दैन।

यो समयमा बर्षातको समयमा वृक्षारोपण गर्न आवश्यक छ। अझै पनि नेपालका लागि १५ करोडभन्दा बढी रुख रोप्न आवश्यक देखिन्छ। जसबाट मात्र हामीले पर्यावरणको संरक्षण गर्न सक्छौँ। साथै अहिले भइरहेको जलवायु परिवर्तनलाई रोक्नका लागि र वायुमण्डलमा भएको अक्सिजन र कार्बन डाइअक्साइडको मात्रालाई सन्तुलन मिलाउनका लागि बोटबिरुवाहरूको वृक्षारोपण अत्यन्त आवश्यक रहेको छ। तर आजभोलि गरिने देखासिखीको वृक्षारोपण कार्यक्रम को खासै औचित्य छैन। किनभने एकचोटी बोटबिरुवा रोप्नु नै सबैथोक होइन। किनभने रोपिएका बोटबिरुवाहरूलाई कोषले र कसरी संरक्षण गर्ने भन्ने कुरा ठूलो हो। अहिले खुलेका धेरै क्लब तथा मान्छेहरूको समूहले वनजङ्गल वा पार्कमा गएर वृक्षारोपण गरिरहेको देखिन्छ । वृक्षारोपण गर्नु आफैमा नराम्रो होइन। तर रोपिएका बोटबिरुवाहरू कोसले र कसरी संरक्षण गर्ने भन्ने कुरा ठूलो हो। प्रत्येक वर्ष भइरहेका वृक्षारोपणका कार्यक्रमबाट अहिलेसम्म कति बोटबिरुवाहरू जीवित छन् । भन्ने कुराको कुनै पनि निश्चित डाटा पाइँदैन। जसबाट पनि यो कुरा थाहा हुन्छ कि मात्र देखासिकीका लागि आजभोलि वृक्षारोपण गर्ने गरिन्छ । यस्तो प्रकारको वृक्षारोपणको कुनै पनि औचित्य हुँदैन।

त्यसैले वृक्षारोपण त गरौं। तर रोपिएका बोटबिरुवाहरूको संरक्षणको जिम्मा पनि वन होस् वा कुनै निश्चित समुदाय होस् वा निजी वन भए निजी वनका संरक्षणकर्ता होस् । हो उहाँहरूलाई जिम्मा दिनु अत्यावश्यक देखिन्छ । तब मात्र गरिएको वृक्षारोपणको औचित्य हुने गर्दछ। भनिन्छ नि हरेक कुराको सुरुवात गर्नु मात्र ठूलो कुरा होइन। तिनीहरूको पालनपोषण संरक्षण र हुर्काउन र बढाउनु ठूलो कुरा हो।
त्यसैले बढ्दो सहरीकरण वातावरण प्रदूषण र जैविक विविधता संरक्षणका लागि वृक्षारोपण अनिवार्य आवश्यकता हो। यसै कुरालाई मध्यनजर गर्दै वातावरणमा भएको अक्सन र कार्बन डाइअक्साइडको मात्रा सन्तुलनका लागि भएपनि वृक्षारोपण अत्यावश्यक देखिन्छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।