भाद्र १६ दैलो न्युज सुर्खेत ।
कर्णाली प्रदेशभित्र विभिन्न स्थानमा नमुना सहरका रूपमा विकास गर्न काम सुरु गरिएको छ । ती स्थानहरूमा १३ वर्षअघि सुरु भएको नयाँ सहरको पूर्वाधार निर्माण भइरहेको छ । हिमाल तथा पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७/०६८ मा सरकारले ल्याएको योजना अन्तर्गत दैलेखको राकममा नयाँ सहर निर्माण थालिएको छ ।
त्यहाँ २०६८ सालदेखि कार्यालय स्थापना गरेर काम सुरु भएको हो । आयोजना निर्माणको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ६४ प्रतिशत वित्तीय प्रगति भएको छ । अहिले विभिन्न खण्डमा आयोजनाका लागि पूर्वाधार निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
चालु आवमा तीन वटा ठेक्का सम्झौता गरेर काम अघि बढाउन लागिएको दैलेखको राकममा नयाँ सहर आयोजनाका इन्जिनियर प्रवेशराज लामिछानेले बताउनुभयो । त्यसका लागि अबको केही दिनमा ठेक्का आह्वान गर्न लागिएको उहाँले जानकारी दिनुभयो । नौ करोडमा तीन वटा छुट्टाछुट्टै ठेक्का सम्झौता गरिने जनाइएको छ ।
समृद्ध बन्दै भेरीगङ्गा
पूर्वी सुर्खेतको भेरीगङ्गा नयाँ सहरका रूपमा विकसित भइरहेको छ । अहिले गुणस्तरीय सडक, विद्युत्, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना निर्माणका काम धमाधम भइरहेका छन् । भेरी किनारमा आधुनिक सहर निर्माण योजनाको सुरुवात २०७३ सालमा भएको हो । सरकारले देशभर नै ४० आधुनिक सहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अनुसार भेरीगङ्गा उपत्यकालाई नयाँ सहरका रूपमा अगाडि सारेको थियो ।
पूर्वी सुर्खेतका तीन वटा पालिका समेटेर आधुनिक सहर ९ स्मार्ट सिटी बनाउने योजना यो वर्ष मात्र कार्यान्वयन हुने भएको छ । गत वर्ष बजेटको स्रोत सुनिश्चित नहुँदा काम सुरु हुन नसकेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ ।
भेरीगङ्गा, गुर्भाकोट र लेकबेँसी नगरपालिकालाई जोड्ने गरी भेरी किनारमा नमुना आधुनिक सहर बनाउन गुरुयोजना निर्माणको यो वर्षदेखि काम सुरु गरिने आयोजनाका सूचना अधिकारी बिना चाकतुले बताए ।चौरजहारीमा काम धमाधम
रुकुमपश्चिमको चौरजहारी बजार नयाँ सहरका रूपमा विकसित भइरहेको छ । पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आव २०६७/६८ सालबाट चौरजहारीलाई नयाँ सहरका रूपमा निर्माण गर्न सुरु गरिएको हो । २०७२ सालमा चौरजहारी नयाँ सहरको कार्यालय स्थापना गरेर काम सुरु भयो ।
नयाँ सहर आयोजनाले निर्माण गर्न सुरु गरेका योजनाको काम सम्पन्न हुँदैगएपछि चौरजहारी नयाँ सहरले मुहार फेर्न थालेको छ । अहिले विभिन्न खण्डमा काम भइरहेको आयोजना कार्यालय चौरजहारीका इन्जिनियर विष्णु शाहीले बताए ।अहिलेसम्म ५३ किलोमिटर सडकको ट्र्याक खोलिएको छ । ११ किलोमिटर सडक कालोपत्रे भएको छ । यसका साथै ५६५ वटा सौर्य बत्ती जडान, १३ वटा सामुदायिक भवन निर्माणको काम सम्पन्न भएको इन्जिनियर शाहीले बताए । २० बर्से सहर निर्माणको योजना अन्तर्गत काम थालेको १३ वर्ष पुग्यो ।
‘नमुना सहर’ अन्योलमा
हिमाली नमुना सहर कार्यक्रम कार्यान्वयन अन्योलमा परेको छ । सरकारले चालु आवको बजेट, नीति तथा कार्यक्रमबाट सो कार्यक्रम हटाएपछि कार्यक्रम कार्यान्वयन अन्योलमा परेको हो । हिमालबाट तराईमा हुने बसाइँसराइ रोक्न आव २०७९/८० मा सरकारले हिल्सा र जुफालमा नयाँ सहर निर्माणको काम सुरु गरेको थियो ।
हुम्लाको नाम्खा गाउँपालिका–५ र ६ र डोल्पाको ठुलीभेरी नगरपालिकाको जुफालमा ‘नयाँ हिमाली सहर’ निर्माणका लागि काम सुरु गरिएको थियो । कार्यक्रम कटौतीले योजनाको काम अघि बढ्न नसकेको सहरी तथा भवन निर्माण आयोजना जुम्लाले जनाएको छ । कार्यक्रम कटौतीले योजनाको काम ठप्प भएको कार्यालयका इन्जिनियर चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार सरकारले बजेट नीति तथा कार्यक्रमबाटै योजना हटाएको छ ।








