
लाेकेन्द्र राज गिरी
एका बिहानै झुसमुसे उज्यालोमा कसैले ढोका ढकढ्काए जस्तो लाग्यो हतार हतार उठेर ढोका खोले त्यहाँ कोहि थिएन र कसैलाई देखिन ।दिनभरी घरको वारीको डिलमा आएर काग करायो अब चाहिँ घरमा कोहि आउन्छ वा केही खबर आउन्छ भन्ने ठाने तर कोही आएन , केही खबर पनि आएन । घरकै पर छेउ दोबाटोमा पर्खी बसे केही खबर आउन्छ कि भनी अह केही खबर आएन, यसरी धेरै समय धेरै ठाउँ पर्खि बसे अह तिमी आएनौ । तिम्रो खबर आएन तिमिले ढोका ढकढक्याएनौ ।
ति दिन जुन दिन तिमिले मलाई कसम खादै भनेका थियौ त्यो दिन मैले भुलेकि छैन , जुन उदेश्यले घर छोडेका थियौ त्यो पनि मैले भुलेकि छैन ।
खै तिमी सङ्गै हिडेका तिम्रा अरु साथी उहिल्यै आइसके तिमी कहाँ छौ के गर्दै छौ को सङ्ग छौ न तिम्रा साथिले भन्छन न कसैले । मैले त्यो बेला तिमिलाई भनेकी थिए हाम्रो समाजको बारेमा , हाम्रा सँस्कारका बारेमा तिमी हिडेको बाटोको बारेमा र तिम्रो उदेश्य पूरा गर्न सङ्गै हातेमालो गर्दै हिडेका साथी सङ्गिको बारेमा । खै तिमिले मानेनौ र म सङ्ग रिसाएर हिड्यौ त्यसैले तिमी घर आउन अफ्ठारो त मानेका छैनौ ? केही छैन समय बदलिएको छ , तिमिहरुले भन्ने गरेको बिनास पछि बिकास , मानिसको हत्या गरेर मात्र सम्भब हुने क्रान्ति , साम्राज्यवाद बिस्तारबाद र घरेलु सामन्तबाद विरुद्धको लडाइ तिम्रो भाषामा सम्पन्न भएको छ । तिम्रा साथिहरु त्यसै भन्दैछन आजभोली । तिमी सङ्ग हिडेका केहि साथीहरुलाई राज्यले सहिद घोषणा गरिसकेको छ भने केही साथीहरु अङ्गभङ्ग भएर दर्दानाक अबस्थामा घर फर्किएको पनि बर्षौ भैसक्यो । बिचरा तिनिहरु पिडादायी जीवन ब्यतित गर्न बाध्य छन । आजको नेपाली समाजमा उनिहरुलाइ दिन गुजारा चलाउन धौधौ छ , कोहिले हिजोको त्यही साम्राज्यवाद र बिस्तारबादको उपमा दिएका मुलुकमा कुल्ली दर्वानी ज्यामी चौकिदार आदि बन्दै मुख्य घरधन्दाको भोको पेटको खाना र नाङ्गो शरिरको लाज छोप्ने टालो (कपडा) को बन्दोबस्तीको मुख्य हिस्सेदार बनाएका छन। त्यही भित्रका कोहि कोहि त यो देशका ठुलठुला ओहोदामा पुगि सके आफ्नो जिबनको बाटोलाई नै परिबर्तन गरिसके , कोहि अझै आत्मसमर्पण नगरौ बेला आउन बाकी छ भन्दै ज्वारभाटा ल्याउने पर्खाईमा छौ भन्छन ।
तिमीले भन्थ्यौ नि हाम्रो सत्ता हो त्यो सत्ता पनि पटक पटक चलाई सके , सत्ताको मोह पनि राम्ररी बुझिसके त्यसैलेत सत्ता बाहिर हुनेबित्तिकै छट्पटी लाग्ने बानी समेत परिसकेको छ । यतिका पटक सत्ताको नेतृत्व गर्दा समेत खै त साम्राज्यवाद सङ्ग र बिस्तारबाद सङ्ग लडेको ? अझ आजभोलि त तिनीहरु साम्राज्यवाद भन्नेहरु सङ्ग घुडा टेकेका छन एमसीसी जस्ता राष्ट्रघाती सम्झौताका ब्याख्याता बनेका छन । बिस्तारबादका सामु नवलम्पसार भएका छन । हिजोको घरेलुु सामन्तबादी भन्दा धनाढय भएका छन नब सामन्तबादको जस्तो व्यवहार प्रदर्शन गर्दैछन । हिजो सबै सर्बहारा कृत हुँदै गर्दै समाजबाद र साम्यवाद को बाटो अङ्गाल्ने नितिको घोक्रो सुख्ने गरि आदर्श बाड्दै गाउँ बस्ती बस्तिहरु चाहार्दै हिड्ने तिमी र तिम्रा साथिहरु लाई सम्झिरहेकी छु ।
खैत तिमी अहिलेसम्म कहाँ छौ , कहिले आउन्छौ तिम्रो उदेश्य कहिले पूरा हुन्छ थाहाँ छैन । तर तिमी सङ्गै हिडेका तिम्रा साथिहरु आज जनता सर्बहरा बनाएर आफ्नै साथिलाई सर्बहरा बनाएर आफू एक्लै पुजिपती बन्ने दौडमा दाैडिरहेका छन । पुजिपती बन्ने मार्गमा लम्किरहेका छन , ठाउँ बिशेष समाज अनुसारको परिभाषामा पुजिपती बनिरहेका छन ।
खै कहाँ गयो तिम्रो लक्ष्य उदेश्य ? खै तिमी कहाँ छौ , केही भन्दैनौ ? हिजो जुन ब्यबस्थामा थियो देश संसद बाट चल्ने आज पनि उहीँ छ । आखिर उहीँ व्यवस्था बाट घुमिफिरी उहीँ व्यवस्थामा आउनु थियो भने यत्रो नाटक मञ्चन किन र के का लागी ?
हिजो एउटा राजतन्त्र थियो त्यसका विरुद्ध लड्यौ आज दर्जनौ नवराजतन्त्र हरु वा राजाहरु द्वारा शासन चलिरहेको छ , त्यस्को हिस्सेदार तिम्रा साथीहरू पनि भैसके , हिजो गरिव दलित जनजाती मधेसी महिला उत्पीडित पिछडिएका वा जनता दुब्लाएर सरकार मोटो हुने देशमा बिकास हुँदैन त्यस कारण क्रान्ति गर्नुपर्छ । जनतालाई नदुब्लाइकन वा जनतालाई मोटाएर मात्र सरकार मोटो हुनुपर्छ भन्ने गरेका थियौ । असाध्यै राम्रो कुरा उठाएका थियौ तर त्यो व्यबहार आज देखिन ?
थाहा छ करिब रु ८० हजार जन्मने बित्तिकै ऋण बोक्नु पर्ने अवस्थामा आएको छ देश सरकार त हिजोको भन्दा झन मोटो हुदैछ जनता हिजोका भन्दा झन दुब्ला हुदैछन के यहि हो तिम्रो प्रगति ……..।
छोडौ यी सब कुरा तिमी कहाँ छौ ? कुन दुनियाँमा छौ ? तिमी गए देखि हामिले एकपटक पनि बिजयादशमी मनाएका छैनौ तिमी आए पछि मनाउला भनेर । तिमी सङ्गै हिडेका पल्ला घरको जेठोले गाउँमै सबैको भन्दा ठूलो सुबिधा सम्पन्न घर भनौ वा आलिसन महल बनाएर सुखको जीवन ब्यतित गर्दैछन । कसै कसैले ठुल्ठुला शहर बजारमा ब्यबसायमा जमेर बसेका छन । जे होस हिजो चप्पल पटकाउदै शहर पसेका हरु आज कार नभए सयर नै नगर्ने अबस्थामा पुगिसके ।
त्यति मात्र कहाँ होर हिजोको जुन सामाजिक चरित्र थियो वा समाज बिकासका साधन र साध्यहरु थिए जुन क्रान्तिकारीको नजरमा सामाजिक ब्यथिती हो वा समाज बिकासको वा भौतिकपुर्वाधार बिकासको बाधकको रुपमा चित्रीत गरेका थियौ नि ? अर्थात अरुलाई जुन जुन आरोपहरु लगाएर धम्काउने हप्काउने तर्साउने गरेका थियौ नि त्यो समाजले एक हिसाबले राम्रै मानेको ठानेको थियो । जस अनुरुप आज त्यही हिजो तिम्रो जबर्जस्ति राम्रो थियो नमान्नेलाई तिम्रो जन कारबाही लाई सम्मान गर्नै पर्छ । फरक यति हो त्यो बल द्वारा गरिएको थियो चेतना द्वारा रहेनछ भन्ने कुरा आज तिम्रै साथिहरुको व्यबहारले देखाउदा दु :ख लागेको छ ।
भन्दा दु: ख लाग्ला तिमिलाई आज तिमि र तिम्रा साथिहरु हिजो अरुलाई दलाल ठेकेदारहरु भन्थ्यौ आज आफै ठेकेदार भैसकेका र ठेकेदारका पनि मालिक बन्ने होडबाजीमा छन । हिजो अरुलाई जाड ( रक्सी ) खाएमा जड्या, (ताज ) खेलेमा जुहारि भन्थयौ कारबाही गर्थ्यौ , मेरै आखाले कति धेरै बुबा उमेरका लाई समेत नाङ्गै बनाएर सिस्नो पानी लगाउदै पिट्दै गरेको , पानीमा डुबाएको आदि आदि सबै याद गर्न चाहन्न , जे होस गलत व्यबहार आचरण र कुलत बानी हटाउन तिमिले गरेको कामलाई सम्मान गर्नै पर्छ । तर आज जुवाको खाल देखि भट्टिको ढोका सम्मको दैनिकी तिम्रा साथीहरूको देख्दैछु । तिमिले हिजो गरेको परिबर्तन बलले रहेछ चेतनाले रहेनछ भन्ने कुराको पुष्टि आफै गर्दैछन यदि चेतना हुँदो होत आज ती सब काम गर्न तिम्रा साथीहरू आफै अगाडि बढ्ने थिएनन होला ? अनि कसरी हामले तिमिले रोजेको बाटो ठिक थियो भन्ने ?
त्यसैले तिमीले घर आउन अप्ठ्यारो मानेको त होइन, केही मान्नु पर्दैन यो दुनियाँ यस्तै हो । तिमी जहाँ छौ चाडै आउ आज समाज हुने खानेका पछाडी लाग्ने भैसक्यो हिजोको आदार सम्मान , एक आपसमा सहयोग आदानप्रदान सबै हराइसक्यो ।
अब त देशमा शान्ति आइसक्यो पल्लो घरे बिदेश बाट आइसक्यो हिजो देशमा द्वन्द्व बाट बच्न शहर बजार गएकाहरु , सबै सबै आइसके बर्षौ भैसक्यो हामिले दशै नमनाएको यस पाली त आउ तिम्रो वहिनीले सजायर राखेको मखमली र सयपत्री फुलको माला पनि बर्षौ देखि तिम्रै तस्बिर अगाडि राखेकी छन थालिमा बनाएका टीका पनि सुक्न थालिसके जमराहरु प्रत्येक बर्ष राख्छौ । तिमी आउदैनौ आफै उम्रन्छन अनि आफै मर्छ्न अब त यो आमा पनि धेरै टिक्दैन जस्तो छ । एक पटक त तिम्रो अनुहार हेर्न देउ एक पटक त तिम्रो वहिनीको आखामा आँसु पुछ्न आउ तिम्रो वहिनीको निधार खाली भएको पनि बर्षौ भयो ,जहाँ छौ जस्तो छौ उस्तै आउ ।
चाहिदैन हामीलाई तिम्रा साथिले बनाएका जस्ता आलिसान महल ,चाहिदैन हामिलाई उस्तै नाक कान घाटिमा गर गहना भिराउन , हामिलाई लाज लाग्छ हिजो महिला मुक्ती र नारी दासताको जन्जिरको रुपमा नाक , कान छेड्ने र बस्तुको रुपमा सुन्दरी जस्तो श्रृङ्गार गरेको हो भनेर यहि दुनियाँका म जस्तै आमा दिदी बहिनी छोरी हरुका नाक कानका सुन झिक्न लगाएको हामिले बिर्सेका छैनौ र हामिले बिर्सिसक्यौ सुनचादी प्रदशन गर्ने गरि लगाउन । चाहिदैन हामीलाई शहर बजारमा ठुलठुलो उद्योग त्यो पनि निजि स्वामित्वका , हामिले राज्यको उद्योग र जनताको स्वामित्व बुझेका थियौ मुठीभरको रजाई थिएन त्यो भन्दा हिजो जस्ताे थियो उस्तै बनेर आउ । यो देशका जनतालाई मोटाउने बनेर आउ , यो देश लाई साम्राज्यवाद बिस्तारबादका सामु लम्पसार नपर्ने गरेर आउ , संक्रमणकाललाई हटाएर स्थायी शान्ति र समृद्धि ल्याएर आउ भाइ भाइमा हिमाली, पहाडी ,मधेसी ,विभिन्न जाति ,भाषा, धर्म, लिङ्ग ,क्षेत्रमा भएको भेदभाव र अनेकतालाई भेदभाव रहित एकतामा बाधेर आउ गरिबहरुको ओठमा हाँसो बनेर आउ म बाटो कुरेर बस्ने छु बिश्बास छ तिमी यसपालि त अबश्य आउनेछौ ।








