भाद्र २४ दैलो न्युज सुर्खेत ।
सरकारले सरकारी कार्यालयहरुमा खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालय, आयोग, सचिवालय र निकायहरुलाई परिपत्र गर्दै खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म मात्रै छुट्याएर कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
मन्त्रिपरिषदको निर्णयअनुसार तोकिएको खाजा समय बारे सूचना सूचनापाटीमा टाँस्ने र अन्य समयका सेवा प्रवाह र कार्यालयको काम नरोक्ने व्यवस्था गर्न सम्बिन्धत कार्यालय प्रमुखले मिलाउनुपर्ने परिपत्रमा उल्लेख छ । पत्रमा अनुगमनका क्रममा कतिपय निकायमा खाजा समय तोकिएभन्दा बढी निर्धारण गरिएको र खाजा समय पालना नभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । मन्त्रालय र अन्तरगतका निकायमा तोकिए अनुसार खाजा समयको परिपालना गर्न पत्रमा भनिएको छ ।
सरकारले सार्वजनिक विदाबारे हरेक वर्ष प्रकाशित गर्ने राजपत्रमा यसअघि सरकारी कार्यालयको सेवामा बाधा नपर्ने गरी आलोपालो मिलाएर सम्बन्धित कार्यालयले आधा घण्टाका लागि खाजा समय तोक्ने व्यवस्था गर्थ्यो । तर, गतवर्षदेखि सरकारले १ः३० देखि २ः ०० बजेसम्म खाजा समय उल्लेख गरेपनि आलोपालो मिलाउने कुरा उल्लेख गरेन । यसकै कारण सरकारी कार्यालयहरुले खाजा समयमा कर्मचारीहरुबीच आलोपालो मिलाउने तर्फ ध्यान दिएका छैनन् ।
सेवाग्राहीलाई कार्यकक्षमा कुराइहने, तर कर्मचारी भने क्यान्टिनमा अल्मलिएर बस्ने अवस्था छ । सरकारी कार्यालयमा मात्रै हैन, सरकारी अस्पताल सहितका स्वास्थ्य संस्था, संवैधानिक आयोग र सरकारी संस्थानमा समेत यस्तै छ । कतिपय सरकारी कार्यालयले १ घण्टाको खाजा समय तय गर्ने गर्दा सेवाग्राही मारमा पर्छन् ।








