भाद्र ७, दैलाे न्युज सुर्खेत
विहवार वसेकाे मन्त्री परिषद बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
उक्त बैठकले केही शर्तहरु राखेर टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
उक्त निर्णय कार्यान्वयनका लागि सामाजिक संजाल टिकटकले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयसँग सम्झौता गर्नुपर्नेछ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार ‘नीतिगत रुपमा खुल्यो । त्यो कार्यान्वयनमा आउन सरकारकाे शर्त पूरा गर्नुपर्छ ।’
उनका अनुसार हरेक सामाजिक सञ्जाल अब ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ को दफा ३ अनुसार मन्त्रालयमा सूचिकरण हुनुपर्छ । त्यसपछि दफा ६ अनुसार प्वाइन्ट अफ कन्ट्रयाक्ट तोक्नुपर्छ । छलफलमा टिकटकका प्रतिनिधिहरु नेपालमा सूचिकरण हुन र प्वाइन्ट अफ कन्ट्रयाक तोक्न सहमत छन।
उल्लेखित शर्त सहित सरकारले थप चार शर्त पनि राखेको छ । पर्यटन प्रवर्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा गर्नु पर्ने, साक्षरताका लागि सघाउनुपर्ने र सार्वजनिक शिक्षालाई गुणस्तरीय तथा सूचना प्रविधिमा आधारित बनाउन सहयोग गर्नुपर्ने । यसका साथै टिकटकमा नेपाली वा नेपालका मातृ भाषाहरु फिल्टरिङ तथा मोडरेसनको सुनिश्चितता गर्नुपर्छ । सञ्चारमन्त्री गुरुङले भने, ‘जे कारणले टिकटक बन्द गरिएको हो, त्यस्तो परिस्थिति कुनै पनि नआउने गरी फिल्टिरिङ हुनुपर्छ ।’
गालीगलौजका साथै सामाजिक दुर्भावना फैलाउने, सामाजिक अपराध फैलाउने भाषा प्रयोग हुन नहुने सरकारले बताएको छ । मन्त्री गुरुङले भने, ‘यो अरु सञ्जालको हकमा पनि लागू हुन्छ ।’








