दैलो न्यूज सुर्खेत
नेपाली कांग्रेसको संस्थापन पक्ष ‘दोस्रो विशेष महाधिवेशन’ले गर्ने निर्णयका आधारमा आगामी कदम चाल्ने मनस्थिति बनाएर बसेको छ ।
सभापति शेरबहादुर देउवाले आफ्नो अस्थायी निवास महाराजगञ्जमा सोमबार बोलाएको छलफलमा सहभागी नेताहरूका अभिव्यक्तिबाट संस्थापन पक्ष ‘पर्ख र हेर’ को अवस्थामा देखिन्छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयमा ‘नोट अफ डिसेन्ट’ राखेर विशेष महाधिवेशनतर्फ लागेपछि कारबाहीमा पर्ने कतिपयको आकलन थियो ।
तर, सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का तत्कालै कारबाहीको डन्डा चलाउने पक्षमा देखिदैनन् । ‘पहिले नै कारबाही गर्दैनन्, यो कन्फर्म छ,’ खड्कानिकट स्रोतले भने, ‘उनीहरूले बन्दसत्रबाट गर्ने निर्णयका आधारमा निर्णय लिनेतिर कुरा गएको छ ।’ सभापति देउवासँग महाराजगञ्ज छलफलमा सहभागी एक केन्द्रीय सदस्यले पनि यही कुरामा जोड दिए । ‘करिब–करिब त्यही हो । महाधिवेशन भनिएको भेलाले जस्तो निर्णय गर्छ त्यहीअनुसार अघि बढ्छौं,’ उनले भने ।
सभापति देउवासँगको भेटपछि कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले सञ्चारमाध्यमहरूलाई दिएको प्रतिक्रियाले पनि यसको पुष्टि गरेको छ । ‘विशेष महाधिवशन भनिएको भेलाले कस्तो एजेन्डा ल्याउँछ भन्ने छ,’ उनले भने, ‘अहिले चाहिँ पर्ख र हेरको अवस्थामा हुनुहुन्छ ।’ भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले कार्यविधि पारित गरेपछि सभापति देउवाले आफूनिकट नेताहरूलाई छलफलका लागि महाराजगञ्ज बोलाएका थिए ।
महाराजगञ्जमा ३ बजेपछि सुरू भएको छलफलमा सहभागी नेताहरूलाई उनले पछिल्लो परिस्थितिको ‘ब्रिफिङ’ गरेका थिए ।
‘ब्रिफिङ’का क्रममा सभापति देउवाले पार्टी फुट्ने आशंका व्यक्त गर्दै नेताहरूलाई संयम भएर अडिग रहन सुझाएका थिए । अबका दिनमा सिर्जना हुने परिस्थितिको सामना गर्नुपर्ने उनको भनाइ थियो । कांग्रेसको एक भ्रातृ संगठनको नेतृत्व गरिसकेका केन्द्रीय सदस्यले महाराजगञ्ज छलफलमा सभापति देउवाले पछिल्लो घटनाक्रमबारे ‘ब्रिफिङ’ जानकारी दिए ।
‘पार्टी फुटाउने प्रयास भइरहेको छ । हाम्रो पार्टी राष्ट्रियतामा विश्वास गर्ने पार्टी हो । पार्टीलाई धक्कामुक्का दिन खोजी रहेका छन्,’ ती नेताले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘साथीहरू संयम भएर एक ठाउँमा अडिराख्नुहोला । आउने परिस्थितिको चुनौती सामना गर्नुपर्छ ।’
‘ब्रिफिङ’का क्रममा सभापति देउवाले महामन्त्री गगन थापाप्रति असन्तुष्टि व्यक्त गरेको अर्का नेताको भनाइ छ ।
उनका अनुसार देउवाले भने, ‘क्रियाशील सदस्यता व्यवस्थापनको जिम्मेवारी लिएका महामन्त्री आफैं काम सम्पादन गर्नुहुन्न । पार्टीमा उल्टै समस्या ल्याउनुभयो । यो पद्दतिको खिलाफमा छ ।’ छलफलमै सहभागी अर्का नेताले सभापतिले ‘ब्रिफिङ’ गरे पनि विशेष कुरा नआएको प्रतिक्रिया दिए । ‘ब्रिफ त गर्नुभयो, उहाँको खास कुरा आएन,’ ती नेताले भने, ‘धेरै मान्छे लागेर यस्तो काम (पार्टी विभाजन) गरिरहेका छन् भन्नुभयो ।’
सभापति देउवाले छलफलका क्रममा संयमित भएर बस्नू भनेको कुरा पार्टी विभाजनको संकेत भएको उनको बुझाइ छ । ‘संयम भएर बस्नुहोला भनेको चैं फुट्न सक्छ भन्ने संकेत पनि होला,’ उनले भने ।
सुदूरपश्चिम प्रदेश सभापति बलायरले फुटको संघारमा पुगेको कांग्रेसलाई एकतावद्ध राख्ने उपायबारे सबैको चिन्ता र चासो रहेको प्रतिक्रिया दिए । आगामी निर्वाचन र पार्टीको अधिवेशन सम्पन्न गरेर राष्ट्रियता बलियो बनाउनुपर्नेमा सभापति देउवाको जोड रहेको उनको भनाइ छ । ‘पार्टीमा कसरी एकता राख्ने भन्नेमा सबैको चिन्ता र चासो छ,’ बलायरले भने, ‘देश संक्रमणकालीन अवस्थामा छ । निर्वाचन र अधिवेशन सम्पन्न गरेर राष्ट्रियता बलियो बनाउनुपर्छ भन्नेमा सभापतिको जोड छ ।’








